'दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनुस्'

काठमाडौं: निशाकुसम र उषा किरण दुवैलाई जेठ ३ को घटनाले अझै पनि झस्काउँछ । त्यस दिन उनीहरूको स्कुल बिदा थियो। उनीहरू मालीगाउँस्थित फुपूको घरमा गएका थिए। पछि नक्सालस्थित डेरामा फर्कंदा घरभरि मानिस थिए। 
हुन त उनीहरूको घरमा धेरै मानिस आउनु सामान्य थियो। तर त्यस दिन सधैंभन्दा निकै बढी थिए। निशाकुसुम र उषाकिरण क्रमशः आठ र पाँच वर्षका थिए। पछि जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधन भएको समाचार सुनाएपछि उनीहरू पनि भक्कानिए । त्यो उनीहरूको जीवनमै अपूरणीय क्षति भएको दिन थियो।
त्यस घटनाको २२ वर्षपछि बुधबार उनीहरूले सुखद समाचार सुनेका छन्। त्यस बेला बिधवा भएकी आमा विद्या भण्डारीलाई पार्टीले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो। निशा र उषालाई यो खबर भण्डारी स्वयंले भन्न भ्याएकी थिइनन्। 
उनीहरूले अनलाइनहरूमा आएको समाचार हेरेर विद्यालाई उम्मेदवार बनाएको थाहा पाएका थिए। 'पहिला त हामीलाई ममीले भन्नुभएन, पछि घर आएपछि उम्मेदवार बनाउने निर्णय भयो भनेर सुनाउनु भयो। हामीले उहाँलाई बधाई दियौं, निशाले भनिन्।
भण्डारी राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा उनीहरू भण्डारी निवास बानेश्वरमा प्रसन्न मुद्रामा भेटिए।निशा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेकी छन् भने उषाले भारतबाट एमबीबीएस गरेकी छन्। 
उनीहरूले आफ्नी आमा राष्ट्रपति भएकोमा खुसी त प्रकट गरे। तर २२ वर्षअगाडिको घटना र यसलाई कुनै तरिकाले नमिसाउन र तुलना नगर्नसमेत आग्रह गरे। 'त्यो कसैसँग पनि तुलना गर्न नमिल्ने क्षति हो, अहिले उहाँ राष्ट्रपति भएको विषय त्यो घटनासँग जोड्न मिल्दैन', निशाले भनिन्।
उनीहरू यसलाई अचानक र अपेक्षा नगरेको विषय मान्न तयार छैनन्। निशाका अनुसार सधैं राजनीतिमा संघर्ष गरेकाले राष्ट्रपतिमा निर्वाचित हुनु यसैको परिणाम हो। 
आफ्नी आमा पनि राजनीति बुझेको र बुबा पनि नेपालको लोकप्रिय राजनेता भएकाले यसलाई स्वाभाविक र खुसीका रूपमा लिएको उनीहरू बताउँछन् । उनीहरुलाई आमा भण्डारीप्रति संविधानले दिएको सीमितताभित्र बसेर काम गर्न सक्ने विश्वास छ।
'उहाँले राष्ट्राध्यक्षको भूमिका निर्वाह गर्नसक्नु हुन्छ र गर्नुपर्छ भन्ने हामीलाई लाग्छ', दुवै दिदीबहिनीले भने। 'म उहाँकी छोरी भएर मात्र होइन, एक नेपाली नारी भएर हेर्दा पनि उहाँ राष्ट्रपति हुनु महिलाका लागि गर्वको विषय हो', निशाले भनिन्।

'दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनुस्' 'दासढुंगा घटना र राष्ट्रपति चयन नमिसाइदिनुस्' Reviewed by Unknown on 8:36 PM Rating: 5
Powered by Blogger.